खाँडाचक्र नगरपालिकाको वडा नं. १ को कोइरेलगाउँमा इन्टरनेट सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। कालिकोट सदरमुकाम को वडा भएपनी लामो समयदेखि सञ्चार तथा सूचनाको पहुँचबाट वञ्चित रहेको उक्त गाउँमा इन्टरनेट जडान भएपछि स्थानीय बासिन्दामा खुशी छाएको छ।
इन्टरनेट सेवा सुरु भएसँगै विद्यार्थीहरूले अनलाइन कक्षा लिन, शैक्षिक सामग्री अध्ययन गर्न र विभिन्न सूचनामा सहज पहुँच पाउने भएका छन्। त्यस्तै, स्वास्थ्य सेवा, प्रशासनिक कामकाज तथा सरकारी सूचनाहरू अब छिटो र सजिलै प्राप्त गर्न सकिने भएको छ।
स्थानीय बासिन्दाका अनुसार पहिले सामान्य जानकारीका लागि पनि सदरमुकाम मान्म बजार धाउनुपर्ने बाध्यता थियो, तर अब मोबाइल र इन्टरनेटको माध्यमबाट धेरै काम घरमै बसेर गर्न सकिने भएको छ। वडा कार्यालयले इन्टरनेट सेवा स्थानीय विकासका लागि महत्वपूर्ण आधार भएको बताउँदै यसले युवालाई प्रविधि, रोजगारी र सूचना प्रवाहसँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
मान्म बजार क्षेत्र ,चौर टोल , पन्चदेब माबी आसपासका टोलहरुमा पहिले देखिनै ईन्टरनेट को पहुज भैसकेको छ । यद्यपि केही स्थानमा समस्या देखिए पनि सम्बन्धित निकायले सेवा सुधार गर्दै लैजाने जनाएको छ।
वडामा इन्टरनेट सेवा विस्तारसँगै सूचना प्रविधिमा पहुँच बढ्ने र समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
वडाको आर्थिक सहयोग र पहलमा एभरेष्ट नेट्वर्क प्राबिधिक सहयोगमा उक्त कार्य गरिएको छ ।
