मान्म, कालिकोट
कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं. १ स्थित सेरापाटा क्षेत्रमा सिँचाइ पोखरी निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय क्षेत्रमा सिँचाइको उचित प्रबन्ध मिलाई तरकारी खेती र कृषि उत्पादनमा टेवा पुर्याउने उद्देश्यले उक्त पोखरी निर्माण गरिएको हो।कर्णाली प्रदेश सरकारको सशर्त अनुदान तर्फको १५ लाख रुपैयाँ बजेटमार्फत यो योजना कार्यान्वयनमा आएको हो।
यस योजनाको निर्माण व्यवस्थापनको जिम्मेवारी स्थानीय रचिन्द्र शाहीले सम्हाल्नुभएको थियो। निर्माण कार्य समयमै र गुणस्तरीय रूपमा सम्पन्न भएको स्थानीय उपभोक्ताहरूले बताएका छन्।पोखरी निर्माण भएसँगै यसअघि आकाशे पानीको भरमा खेती गर्दै आएका सेरापाटाका कृषकहरू उत्साहित भएका छन्।
अब यस क्षेत्रमा व्यावसायिक तरकारी खेतीतर्फ कृषकहरू आकर्षित हुने र सेरापाटालाई तरकारी उत्पादनको ‘पकेट क्षेत्र’का रूपमा विकास गर्न सहज हुने विश्वास गरिएको छ। यसले स्थानीयको आर्थिक जीवनस्तरमा समेत सुधार ल्याउने अपेक्षा राखिएको छ।
सडक स्तरोन्नति कार्य तीव्र
यसैबीच, खाँडाचक्र नगरपालिका भित्रै खानेपानी कार्यालयदेखि आर्मी ब्यारेकसम्म जाने सडकको स्तरोन्नति कार्य पनि तीव्र गतिमा अघि बढेको छ। संघीय सरकारको २५ लाख रुपैयाँ बजेटमा सञ्चालन भइरहेको उक्त सडक योजनाको हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको छ। सडकको स्तर सुधार भएपछि यस क्षेत्रको आवतजावत थप सहज हुने देखिएको छ।