पञ्चदेब माविको वार्षिक उत्सव, शिक्षा सुधार र सहकार्यमा जोड

ByDharma Raj Tamata

२०८२ फाल्गुन १२, मंगलवार १८:३७ गते २०८२ फाल्गुन १२, मंगलवार १८:३७ गते २०८२ फाल्गुन १२, मंगलवार १८:३७ गते

खाँडाचक्र नगरपालिका–१ स्थित पञ्चदेब माध्यमिक विद्यालय को ४७औँ वार्षिक उत्सव तथा अभिभावक दिवस एक कार्यक्रमका बीच सम्पन्न भएको छ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा खाँडाचक्र नगरपालिका का उपप्रमुख गणेश बहादुर शाही को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा कालिकोट जिल्ला समन्वय समिति का प्रमुख धनजित बहादुर शाही प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने पूर्व नगरप्रमुख जशि प्रसाद पाण्डे विशेष अतिथि रहेका थिए। कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक तथा अन्य सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार शैक्षिक सत्र २०८१/०८२ का लागि विद्यालयको आम्दानीतर्फ ५ करोड ५८ लाख ५१ हजार ३ सय ४८ रुपैयाँ ७६ पैसा रहेको र खर्चतर्फ ३ करोड ३७ लाख ९ हजार २ सय ८४ रुपैयाँ ८९ पैसा भएको जानकारी दिइयो। प्रतिवेदनमा हाल विद्यालयका विभिन्न खातामा २ करोड १६ लाख ४० हजार ९ सय ५२ रुपैयाँ ८३ पैसा मौज्दात रहेको उल्लेख गरिएको छ।

सभापति गणेश बहादुर शाहीले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकार, शिक्षक र अभिभावकबीच सहकार्य आवश्यक रहेको बताउँदै आगामी दिनमा भौतिक तथा शैक्षिक पूर्वाधार विकासमा नगरपालिका प्रतिबद्ध रहने धारणा व्यक्त गरे।

प्रमुख अतिथि धनजित बहादुर शाहीले विद्यालयलाई जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक बनाउने लक्ष्यका साथ योजनाबद्ध रूपमा अघि बढ्न आग्रह गर्दै गुणस्तरीय शिक्षा, अनुशासन र प्राविधिक शिक्षा विस्तारमा जोड दिनुपर्ने बताए।

विशेष अतिथि जशि प्रसाद पाण्डेले विद्यालयले विगतदेखि नै शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा समुदायको साथ र सक्रिय सहभागिताले अझ राम्रो उपलब्धि हासिल गर्न सक्ने विश्वास व्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक चन्द्र प्रसाद कोईराला ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको समग्र विकाससँगै शैक्षिक उपलब्धि दर ४५ प्रतिशतबाट बढाएर ५५ प्रतिशत पुर्‍याउन सफल भएको जानकारी दिनुभयो।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए भने उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई सम्मान गरिएको विद्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *