कालिकोट — खाँडाचक्र नगरपालिका वडा नं. १ ले दलित समुदायका युवा–युवतीलाई लक्षित गर्दै लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन हुने उक्त कार्यक्रम मिति २०८२ चैत्र ३ गतेदेखि १० गतेसम्म फारम भर्न पाउने र त्यसपछी छनौट गरिने वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष धर्मराज ताम्राकारका अनुसार, कार्यक्रम अन्तर्गत २० वर्षभन्दा माथिका दलित समुदायका युवतीहरूलाई लोकसेवा तयारीका लागि रु. ३० हजार तथा दलित युवाहरूलाई रु. २० हजार प्रोत्साहन रकम उपलब्ध गराइनेछ।
उक्त कार्यक्रमको मुख्य उद्देश्य बाल विवाह न्यूनीकरण गर्नुका साथै युवाहरूमा रोजगारी विकास र सरकारी सेवामा पहुँच बढाउनु रहेको वडा कार्यालयले जनाएको छ।
कार्यक्रममा सहभागी हुन इच्छुकले तोकिएको अवधिभित्र वडा नं. १ कार्यालयमा सम्पर्क गरी दरखास्त दिन सक्नेछन्। आवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, दलित प्रमाणित सिफारिस, लोकसेवा परीक्षा दिएको वा तयारी गरिरहेको प्रमाण, पासपोर्ट साइजको फोटो तथा २० वर्षभन्दा माथिका दलित युवतीका हकमा अविवाहित सिफारिस अनिवार्य गरिएको छ।
वडा सचिव इन्द्रा नेपालीले यो कार्यक्रमले दलित समुदायका युवाहरूलाई आत्मनिर्भर र सक्षम बनाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
