कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १ मा रहेको पञ्चदेब माध्यमिक विद्यालय मा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। विद्यालयकै आयोजनामा सम्पन्न कार्यक्रममा आर्थिक, भौतिक तथा शैक्षिक कार्यसम्पादनलगायत विविध पक्षमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गरी विस्तृत समीक्षा गरिएको थियो।
शैक्षिक सत्र २०८१/०८२ का लागि विद्यालयको आम्दानीतर्फ ५ करोड ५८ लाख ५१ हजार ३ सय ४८ रुपैयाँ ७६ पैसा रहेको र खर्चतर्फ ३ करोड ३७ लाख ९ हजार २ सय ८४ रुपैयाँ ८९ पैसा भएको जानकारी दिइयो। हाल विद्यालयका विभिन्न खातामा २ करोड १६ लाख ४० हजार ९ सय ५२ रुपैयाँ ८३ पैसा मौज्दात रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
कार्यक्रम विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष लिलाराम पाण्डे को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगरपालिकाका उपप्रमुख गणेश बहादुर शाही प्रमुख अतिथिका रूपमा तथा वडा अध्यक्ष धर्मराज ताम्राकार विशेष अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सामाजिक परीक्षण सम्बन्धी प्रतिवेदन विद्यालयका शिक्षक लक्षिराम बि क ले प्रस्तुत गरेका थिए। सहभागीहरूले प्रतिवेदनमाथि छलफल गर्दै विद्यालयको पारदर्शिता, उत्तरदायित्व र शैक्षिक सुधारका लागि सामाजिक परीक्षण महत्वपूर्ण हुने बताएका थिए।
