हातेमालो फाउण्डेसनको कार्यालय उद्घाटन ,परिवर्तन को अपेक्षा ।

ByDharma Raj Tamata

२०८२ चैत्र १४, शनिबार ०७:४३ गते २०८२ चैत्र १४, शनिबार ०७:४३ गते २०८२ चैत्र १४, शनिबार ०७:४३ गते

खाँडाचक्र नगरपालिका–१, कालिकोटमा “सबैको लागि सहारा, हातेमालो एउटै अभिभारा” भन्ने मूल नारासहित हातेमालो सहायता फाउण्डेसनको कार्यालय उद्घाटन समारोह सम्पन्न भएको छ।
फाउण्डेसनका अध्यक्ष कटक विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १ का अध्यक्ष धर्मराज ताम्राकार प्रमुख अतिथि तथा खाँडाचक्र नगरपालिकाका पूर्व नगरप्रमुख जशी प्रसाद पाण्डे विशेष अतिथिको रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा पत्रकार प्रकाश बराल, विभिन्न क्षेत्रका युवायुवती, बालबालिका, ज्येष्ठ नागरिक, शिक्षक तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिल बिकले गर्नुभएको थियो।
कार्यक्रममा अध्यक्ष कटक विश्वकर्माले फाउण्डेसन सामाजिक सेवा र मानव हितका लागि समर्पित संस्था भएको उल्लेख गर्दै विपन्न, असहाय तथा विपद् पीडितहरूको राहत, उद्धार र पुनर्निर्माणमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य, सीप विकास र उद्यमशीलता प्रवर्द्धनमार्फत समाजका कमजोर वर्गलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताउनुभयो। साथै, संस्थाले पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर स्थानीय तह तथा विभिन्न संघ–संस्थासँग सहकार्य गर्ने धारणा राख्नुभयो।
प्रमुख अतिथि धर्मराज ताम्राकारले वडा नं. २ का युवाहरूले थालेको यस्तो सकारात्मक र परिवर्तनकारी पहल प्रशंसनीय रहेको बताउँदै यसले समाजमा नयाँ आशा जगाएको उल्लेख गर्नुभयो। उहाँले सामाजिक विकास, बालविवाह न्यूनीकरण, युवा सशक्तीकरण र रोजगार सिर्जनामा संस्थाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

विशेष अतिथि जशी प्रसाद पाण्डेले युवाहरूको सक्रियताले समाज परिवर्तन सम्भव रहेको बताउँदै यस्ता सामाजिक संस्थाहरूले समुदायमा जागरण ल्याउने धारणा राख्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक समानताको क्षेत्रमा संस्थाले दीर्घकालीन प्रभाव पार्ने अपेक्षा व्यक्त गर्दै सबै पक्षको सहकार्य आवश्यक रहेको औंल्याउनुभयो।
कार्यक्रममा उपस्थित वक्ताहरूले समेत संस्थाले अघि सारेका उद्देश्यहरू—विपन्न तथा असहायको सहयोग, शिक्षामा पहुँच विस्तार, स्वास्थ्य तथा सरसफाइ, महिला सशक्तीकरण, वातावरण संरक्षण, कृषि प्रवर्द्धन तथा सामाजिक समावेशीकरण—प्रति समर्थन जनाउँदै आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
फाउण्डेसनले आगामी दिनमा विभिन्न सामाजिक, शैक्षिक तथा जनहितकारी कार्यक्रमहरू सञ्चालन गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको जनाएको छ।

कार्यक्रम संचालन संस्थाका सचिव दिल बहादुर बिक ले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *