लुवारेकोट दरबार : इतिहास, वीरता र सभ्यताको अमर गाथा

ByDharma Raj Tamata

२०८३ असार १, सोमबार २१:५३ गते २०८३ असार १, सोमबार २१:५३ गते २०८३ असार १, सोमबार २१:५३ गते
Oplus_16908288

खाँडाचक्र नगरपालिकाको मुटुमा अवस्थित लुवारेकोट केवल एउटा ढुङ्गो वा भू–भाग मात्र होइन, यो प्राचीन सभ्यता, शौर्य, सीपकला र बलिदानको जीवित इतिहास हो। पुस्तौंदेखि सुनिँदै आएको किंवदन्ती, वंशावली र स्थानीय जनविश्वासअनुसार लुवारेकोट लुवार समुदायको ऐतिहासिक राजधानी तथा शासन केन्द्रका रूपमा परिचित रहेको छ।
लुवार वंशका प्रथम पूर्वजका रूपमा शान्ति लुवारलाई स्मरण गरिन्छ। शान्ति लुवारका पुत्र देवराज लुवार तथा देवराजका पुत्रहरू जगे, जिउने र लाटो लुवारले विभिन्न कालखण्डमा लुवारेकोट क्षेत्रमा शासन सञ्चालन गरेका थिए। त्यसबेला लुवारेकोटको फेदीदेखि हालको राजाको पर्तिसम्म लुवारहरूको बस्ती र खेतीयोग्य भूमि फैलिएको थियो।
लुवारेकोटको शिखरमा रहेको विशाल ढुङ्गो तत्कालीन शासन, न्याय र छलफलको केन्द्र मानिन्थ्यो। यही ढुङ्गामाथि बसेर राजा तथा भद्रभलाद्मीहरूले कचहरी, सभा र राज्य सञ्चालनसम्बन्धी निर्णय गर्ने गर्दथे। ढुङ्गाको वरिपरि घोडा बाँध्ने स्थानहरू समेत रहेको जनश्रुति पाइन्छ। लुवारहरू फलाम, हतियार तथा विभिन्न हस्तकलामा निपुण थिए, जसका कारण उनीहरू त्यस क्षेत्रका कुशल शिल्पीका रूपमा सम्मानित थिए।
लुवारेकोटको पश्चिमपट्टि रहेको कोटदरबार क्षेत्रमा तत्कालीन मल्लैबम्म राजा चक्रध्वज र कुबेर बर्माको शासन थियो। लुवारहरूको अनुपम सीपकला र दक्षताबाट प्रभावित भई मल्लैबम्म राजाले आफ्नी रानी अधेकालाई “लुवारी अधेका” भन्ने सम्मानित पदवी प्रदान गरेको स्थानीय इतिहासमा उल्लेख पाइन्छ।
त्यस समयमा लुवारेकोट र कोटदरबारबीच गहिरो मित्रता तथा भाइचाराको सम्बन्ध थियो। दुवै पक्षको सहकार्यमा चुलिपिठारा क्षेत्रबाट पानीको कुलो खनेर लुवारेकोट हुँदै खाँडाचक्र डाँडाकाँडा पार गरी कोटदरबारसम्म पानी पुर्‍याइएको भनाइ आज पनि स्थानीय जनमानसमा जीवित छ।
तर इतिहास सधैं सुखद मात्र हुँदैन। एक दिन दैलेखको दुल्लुबाट आएका बलिबम्म राजा कोटदरबारमा अतिथि बनेर बसे। बिहान पानीको कुलोमा भातका सिता, खरानी र कोइलाका अवशेष देखेपछि उनले सो कुलोको माथिल्लो भागमा कसको बस्ती छ भनी सोधे। माथि लुवारहरूको बस्ती रहेको जानकारी पाएपछि उनले मल्लैबम्म राजाको मनमा शंका र द्वेषको बीउ रोपे। उनले “तपाईंभन्दा त लुवारहरू नै शक्तिशाली रहेछन्” भन्ने कुरा लगाइदिएपछि मित्रताको सम्बन्ध वैमनस्यतामा बदलिन पुग्यो।
कथाअनुसार त्यसपछि षड्यन्त्रपूर्वक लुवारहरूलाई हतियार बनाउन लगाइयो। लुवारहरूले आफ्नै सीप प्रयोग गरी तयार पारेका हतियार अन्ततः उनीहरूकै विनाशको साधन बने। “लुवारी अधेका”को पदवीको परीक्षा लिने बहानामा लुवारेकोट दरबारमा आगो लगाइयो। अधेका बाहिर निस्किएपछि शान्ति लुवारले “तिमी भित्र बसे पनि मेरो काम छैन, बाहिर आए पनि मेरो काम छैन” भनेको सुनिन्छ। त्यसपछि अधेका पुनः घरभित्र प्रवेश गरी आगोमै जलेर मृत्यु वरण गरिन्।
त्यसपछि लुवार समुदायमाथि ठूलो नरसंहार भएको जनविश्वास छ। मारिएका लुवारहरूको शव हालको जिल्ला समन्वय समितिको मैदान क्षेत्रमा जम्मा गरिएको थियो, जसलाई पछि “लासपाटो” भनेर चिनिन थालियो।
यद्यपि जगे, जिउने र लाटो लुवार भने त्यस बेला ताडीगाउँतर्फ हतियार तथा भाँडाकुँडा बेच्न गएकाले बाँच्न सफल भए। वंश विनाशको खबर पाएपछि उनीहरू विभिन्न दिशातर्फ पलायन भए। जगे लुवार जुम्ला पुगे, पछि फर्केर दाहाँ गाउँ नजिक बसोबास गरे। लाटो लुवार दैलेखको जैगेडातर्फ गए भने जिउने लुवारको जीवन एक साहसिक संघर्षको कथा बन्यो।
भाग्दाभाग्दै थकित अवस्थामा भेटिएका जिउने लुवारलाई गंगाधर आचार्यले आफ्नै घरमा गोप्य रूपमा आश्रय दिए। सात दिनसम्म खर्सुको रूखको टोड्कोमा लुकाएर भोजन गराइयो। पछि आफ्नै घरको कोठामा राखी बुहारीलाई सुत्केरी भएको बहाना बनाएर सैनिकहरूबाट जिउने लुवारको ज्यान जोगाइएको भनिन्छ। यही घटनाले मानवता, सहअस्तित्व र साहसको अनुपम उदाहरण प्रस्तुत गर्दछ।
जिउने लुवारको वंश परम्परा हुँदै रामे लुवार, रति लुवार, धन लुवार, मन लुवार, सेते लुवार र त्यसपछि काला लुवार, सुन्दर लुवार तथा सुजिते लुवारसम्म आइपुग्छ। उनीहरूका सन्तानहरू ताडी, मान्म, कोईरेलगाउँ, अछाम र अन्य विभिन्न स्थानमा बसोबास गर्दै आएका छन्।
लुवार समुदाय आफूलाई अत्रि ऋषिका वंशज, अत्रि गोत्र, औति पुत्र, अलुन्या शाखा, निर्वंशी काया सरुकाँड्या लुवारका रूपमा परिचित गराउँछन्।
आज लुवारेकोटलाई विभिन्न नामले चिनाउने प्रयास भए तापनि स्थानीय इतिहास, जनश्रुति र पुर्खाहरूको स्मृतिले यो स्थल “लुवारेकोट” कै नामले अमर रहेको प्रमाणित गर्दछ। यो भूमि केवल एउटा ऐतिहासिक स्थल होइन, बलिदान, संस्कृति, सीपकला, स्वाभिमान र अस्तित्वको प्रतीक हो।
जय लुवारेकोट!
वीर पुर्खाहरूको इतिहास अमर रहोस्।
लुवारेकोटको गौरव सदा अटल र अविचलित रहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *